Monday, August 17, 2020

दाहालको दैलो र जदौ

दाहाल यज्ञनिधि नाम नै यति वजनदार र ओजिलो लाग्दछ मलाई उँहाको स्वर जस्तै , रेडियो नेपालको साहित्य संसार कार्यक्रम का संञ्चालक, एक ख्यातीप्राप्त नाम , नेपाली लोक साहित्यको झर्रा भाषाको विकास तथा प्रर्वदनका लागी उँहाले दिनुभएको योगदान अतुलनीय रहेको छ । मेरो दिवंगत अभिभावकहरुको रगत नाता नरहेपनि भावना र स्नेहको नाताका कारण म पनि उँहा सँग जोडिन पुगेकी हुँ । त्यसो त मेरी आमा र उँहा को श्रीमती वाल्यकालको स्नेही मित्र हुनुहुन्छ जुन मित्रता आजसम्म रहेको छ । दाहाल अंकल मेरो अभिभावक को रुपमा हुनुहुन्थ्यो , आज उँहा हामी सामु नभएपनि उहाँको त्यो दमदार आवाज सधै हाम्रो मन मस्तीष्कमा रहिरहने छ । म आफु पनि नेपाली साहित्यको अनुरागी भएको कारण उहाँ मेरो प्रेरणा को स्रोतको रुपमा हुनुहुन्थ्यो , वि.सं २०५२ साल तिर उँहाकै सहयोग र प्रेरणा को कारण मैले पनि रेडियो नेपालको हातेमालो नामक वालकार्यक्रमको तत्कालिन स्व.वासुदेव मुनाल कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो , मलाई दाहाल अंकलले उँहासँग परिचय गराएर मेरो आफनो रचना वाचन गर्ने मौका प्रदान गर्नुभएको थियो जुन मेरो जीवनको अवस्मरणीय क्षण थियो । त्यस्तै गरि उँहाले समयसमयमा मलाई जीवन को यात्रामा कसरी अगाडि बढने भनी सल्लाह र हौसला प्रदान गरिरहनु हुन्थ्यो । हाम्रो पारिवारिक सम्बन्ध भन्दा माथीको एउटा बेग्लै बाबु छोरीको सम्मान जनक सम्बन्ध रहेको थियो , हुन त उँहा हक्की , निडर व्यक्तित्व , तर उँहाले आफनो शरिरको रोगका कारण धेरै संर्घष पुर्ण जीवन बाँचेर जानुभयो , तर समाज र नेपाली साहित्यलाई जति योगदान दिनुभयो अब दाहाल अंकल जस्ता व्यक्ति सायदै यस धरती मा विरलै जन्म लिन्छन् होला । उँहा हक्की , निडर स्वभावको सधै बोल्दा नरम स्वरले बोल्ने , तर आफनो जीवन आफनो अडानमा नै बाँँच्नु भयो उँहाले , धेरै लामो समय उँहा मृगौला पिडित भईकन पनि उँहाले आफनो काम कर्तव्यलाई कहिल्यै पन्छाएर बस्नु भएन , एउटा सक्रिय जीवन र नियमको जीवन बाच्ँदै अगाडी बढ्नुभयो , त्यसो त उँहाकी श्रीमती सुधा दाहालले उँहाको सेवा सुसार गर्नमा मा कुनै कसर राख्नु भएन त्यसैले त जीवनको अन्त्य सम्म उँहाले सक्रीय जीवन बाँचीरहनु भयो । उहाँहरु मैले देख्दा धेरै नै मिल्ने चखेवा चखेवीका जोडी जस्तै , अंकलले सधै मायाले बोलाउने नाम लुसी सुधा आन्टी मेरो सानीआमा , सधै धर्ती नै भएर जीवनका आरोह अवरोहलाई पछयाउदै अगाडि बढिरहनु भयो , अंकलको जीवनको आयु लम्बयाउनका निम्ति , आफनो सिउँदाको सिन्दुर पुछिएको दिन पनि उँहाले अरुलाई ढाडस दिइरहेको देख्दा म साहै अचम्म परेको थिए मुटुमा ढुंगा राखेर ,आँसु पिएर दाहाल अंकलको अन्तिम विदाइ गरेको क्षणले म भावविव्हल भएको थिए । सायद यस्ता नारीहरु विरलै भेटन्छ्नि जीवनमा एउटा सहनशिलताको खानी हुनुहन्छ उँहा अर्थात लुसी , दाहाल अंकलको जीवन संगीनी । मेरो जीवनमा आइपरेको कतिपय दुखका क्षणमा पनि दाहाल अंकलले दिएका सल्लाह , सुभmाव सधै मननयोग्य थिए , हामी त्यसो त हरेक वषर््ा दशैं मा दाहालको दैलो अनामनगरमा एक दिन सुधा , मञ्जु ,शोभा बालयकालका घनिष्ठ सखीहरु र यी तीन जना साथीहरुको परिवार सहित घरमा दशैको टिका लाउने खानपान गर्ने गर्थ्यौ ,कहिल्यै वज्रवाराही पिकनिक जानथ्यौ जुन दिनहरु कहिल्यै विर्सन सकिदैनन् । त्यसो त अंकललाई दरबारीया भाषा आइस्योस गइस्योस पटक्कै मन नपर्ने भएकोले मैले अंकललाई सम्बोधन गर्दा यस्ता भाषा बोल्दा उँहाले यो भाषा नबोल्न आग्रह गर्नुहुन्थ्यो । धेरै समय पश्चा्त दाहाल अंकलले रेडियो एच.वि.सीमा पनि सञ्चारकर्मीको रुपमा काम गर्नु भयो २०६० जेठ १३ गते , मैले एच वि सी रेडियोमा प्रसारण हुने जदौ कार्यक्रममा मेरो कविता वाचन गर्र्ने मौका पाए । यसरी मेरा कविताहरुलाई स्थान दिएर आगाडी बढन् उँहा सधै हौसला दिनुहुन्थ्यो । आज उँहा हामी बीच हुनुहुन्न तर पनि उँहा यतै कतै रहेर नानी भनर बोलाए जस्तो याद आइरहन्छ । कति चाडै दिनहरु वित्छन् लेख्ने कुराहरु धेरै छन् मनभरी , जानेहरु त गइनै हाले मोक्ष भए , तर हामीलाई सम्झनाको खातहरु छोडेर गए । अंकल हजुरको दाहालको दैलो र जदौ जीवनभर याद आइरहन्छ । श्रदा सुमन छ हजुरलाई प्रिय दाहाल अंकल , सुन्यमा सुन्यशरी बिलाइ जानुभयो हजुर । अगस्त १०, २०१८ जीवनको दुखदायी दिन जुन दिन आज दुई वर्ष वित्यो मैले मेरो अभिभावक दाहाल अंकललाई गुमाए ,नेपाली साहित्यको धरोहर ढल्यो ।