Wednesday, October 8, 2008

गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली दिवस मनाउंदै

गैरआवासीय नेपाली संघले प्रत्येक वर्ष अक्टोवर महिनाको उपयुक्त एक दिनमा गैरआवासीय नेपाली दिवस मनाउँदै आएको हो । गैरआवासीय नेपाली दिवस विभिन्न मुलुकमा त्यहाँको गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद र नेपालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयबाट मनाइने प्रचलन छ । यो वर्ष गैरआवासीय नेपाली दिवस "स्थानीय रुपान्तरणमा गैरआवासीय नेपाली" भन्ने नाराका साथ मनाइदै छ । यो वर्ष नेपालमा हुने मूख्य कार्यक्रम २७ असोज २०६५ सोमवार तद अनुसार १३ अक्टोवर २००८ का दिन जनकपुरमा आयोजना हुदैछ । जनकपुर उद्योग वाणिज्य संघको स्थानीय आतिथ्यतामा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू हुनु हुने कार्यक्रम छ । यो दिन हुने गोष्ठीमा विशेष रुपमा स्थानीय रुपान्तरणमा गैरआवासीय नेपालीहरुको भूमीकामा केन्द्रीत हुनेछ । यस कार्यक्रममा नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्री, स्थानीय विकास मन्त्रीका साथै विभिन्न राजनैतिक दलका युवा नेताहरुको समेत सहभागिता रहने छ । गैरआवासीय नेपाली दिवसकै अवसरमा सिराहाको कर्जन्हामा सामुदायिक परोपकारी अस्पतालको शिलान्यास र सिराहा कै बन्दीपुरमा श्री नेपाल रष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयको उदघाटन सम्माननीय प्रधानमन्त्रीज्यूबाट हुने कार्यक्रम छ । स्मरण रहोस विद्यालयको भ्रमण निर्माण यस संघका अध्यक्ष डा. उपेन्द्र महतो को परिवारको संलग्नतामा स्थापित स्व. फूलकुमारी महतो ट्रष्ट बाट भएको हो र अस्पतालको निर्माण पनि यसै ट्रष्ट बाट हुने छ । साथै विरगंजमा यसै दिवसका उपलक्ष्यमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ । यस्तै चितवन काठमाडौं लगायत नेपालका अन्य ठाउँमा र विश्वका विभिन्न मुलुकमा कार्यक्रम हुने छन् । साथै गैरआवासीय नेपाली संघको प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख लगायत विभिन्न दलका नेताहरुलाई भेट्ने र दोहोरो नागरिकता लगायत गैरआवासीय नेपालीहरु सम्बन्धमा ऐनमा आवश्यक परिमार्जनको विषयमा प्रस्तुत गर्ने छ ।गैरआवासीय नेपाली दिवसमा गैरआवासीय नेपाली संघका पदाधिकारी एवं गैरआवासीय नेपाली प्रतिनिधिहरु र २० भन्दा बढी देशका करीव ६० जना गैरआवासीय नेपालीहरुको सहभागिता रहनेछ । साथै यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सभासदहरु एवं स्थानीय उद्योगपति, व्यापारीहरु र अन्य विशिष्ट अतिथिहरुको सहभागिता रहने छ । गैरआवासीय नेपाली दिवसको आयोजनाको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।

source : NRNA
Reecha sharma Tiwari
Back

No comments: