Monday, February 9, 2009

गैरआवासीय नेपाली संघले काठमाडौंको विमानस्थललाई ट्रलि हस्तान्तरण

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोले आज एक समारोहका विच गैरआवासीय नेपाली संघले काठमाडौंको विमानस्थललाई उपलव्ध गराएको १०० वटा ट्रलि पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हिसिला यमीलाई हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा उहाँले विमानस्थलबाट नै विश्वभरीबाट आउने पर्यटकहरु माझ नेपालको छवी बन्ने भएकोले विमानस्थल सुधारका लागि गैरआवासीय नेपालीहरुले पनि पहल गर्नु पर्ने धारणा रहेको कुरा उल्लेख गर्नु हुँदै गत वर्ष भएको तेश्रो गैरआवासीय नेपाली विश्व सम्मेलनमा नै ट्रलि उपलव्ध गराउने निर्णय भएको र केही हदसम्म सो कुरा पुरा हुन सकेकोमा खुशी व्यक्त गर्नु भयो । समारोहमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री यमीले विमानस्थलको सुधार गरी नेपालको छवी राम्रो पार्न गरेको पहलका लागि र २०११ को पर्यटन वर्षको सुभारम्भको नजिक अवसर पारेर ट्रलि प्रदान गरी सहयोग गरेकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतो, सहयोग गर्ने गैरआवासीय नेपालीहरु र गैरआवासीय नेपाली संघलाई धन्यवाद दिनु भयो । कार्यक्रममा अष्ट्रेलिया, जापान, वेलायत, रुस र हङ्गकङ्ग गरी ५ मुलुकका गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषदबाट उपलव्ध गराइएका १०० वटा ट्रलि हस्तान्तरण गरिएका थिए। उक्त अवसरमा आगामी दिनमा अरु ट्रलिहरु पनि उपलव्ध गराउने योजना रहेको डा. महतोले जानकारी दिनु भयो । ट्रलि भित्र्याउन भंसार सहुलियत प्रदान गरेकोमा नेपाल सरकारलाई गैरआवासीय नेपाली संघ धन्यवाद दिन्छ ।कार्यक्रमको अन्त्यमा काठमाडौं विमानस्थकलका महाप्रबन्धक श्री टि‌. आर. मान्नधरले पर्यटन वर्ष २०११ को नजिक अवसर पारेर ट्रलि प्रदान गरी सहयोग गरेकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतो, सहयोग गर्ने गैरआवासीय नेपालीहरु र गैरआवासीय नेपाली संघलाई धन्यवाद दिनु भयो। उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्री सुरज वैद्य, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उप क्षेत्रीय संयोजक श्री राजेन्द्र बहादुर श्रेष्ठ, युवा प्रतिनिधि श्री सागर वन्त, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य द्वय श्री निलेन्द्र राज श्रेष्ठ, श्री जीवन प्रकाश निरौंला,बेलारुसका एन.आर.एन श्री विरेन्द्र महतो, बरिष्ठ प्रहरी उपरीक्षक श्री उपेन्द्र कान्त अर्याल, पत्रकारहरु, काठमाडौं विमानस्थलका पदाधिकारीहरु एवं बरिष्ठ कर्मचारीहरु, अन्य गन्य मान्य व्यक्तिहरुका साथै गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक डा. हेमन्त दवाडीको उपस्थिती रहेको थियो ।
source : www.nrn.org.np

No comments: