दुई साताअघि व्यक्तिगत सम्पर्कका आधारमा भिसा दिन छाडेको इजरायलले फेरि श्रम विभागको अन्तिम स्वीकृति नभई भिसा नदिने भन्दै नयाँ आवेदन लिन छाडेको छ । इजरायली दूतावासले भिसा आवेदनसँगै श्रम विभागको अन्तिम स्वीकृतिसहित स्टिकर लगाइएको पासपोर्ट बुझाउनु पर्ने सूचना गरेपछि तत्काल इजरायलका लागि नयाँ भिसा पाउने सम्भावना पनि सकिएको छ । काम गर्न जाने देशबाट भिसा पाएपछिमात्र अन्तिम श्रम स्वीकृति दिने नेपालको कानुनी व्यवस्था र अन्तिम स्वीकृति नदिई भिसा नदिने इजरायलको सूचनाले नयाँ भिसा पाउने सम्भावना बन्द भएको हो । व्यक्तिगत सम्पर्कका आधारमा इजरायलको भिसा लिन जानेले पनि पत्रिकामा प्रकाशित विज्ञापनको आधारमा संस्थागत प्रक्रिया रहेको बताउने गरेपछि दूतावासले भिसाका लागि अन्तिम स्वीकृति र स्टिकर लगाइएको पासवर्ड मागेको हो ।
'बिहीबारदेखि दूतावासले भिसा आवेदनको नयाँ फाइल लिएको छैन्, 'इजरायलका लागि मान्छे पठाउँदै आएको कर्म इन्टरनेसनलका प्रमुख करणबहादुर मल्लले भने, 'इजरायली दूतावासले अन्तिम श्रम स्वीकृतिसहित स्टिकर टासिएको पासपोर्ड लिएर आएमात्र भिसा आवेदन बुझ्ने बताएको छ ।' मल्लका अनुसार दूतावासले सूचना प्रकाशित हुन अघि आवेदन गर्नेलाई मात्र भिसा दिइरहेको छ ।
श्रम विभागका निर्देशक कृष्ण दवाडी विभिन्न पक्षसँग सल्लाह र छलफल गरेर समाधानको बाटो खोज्ने बताउँछन् । 'औपचारिक रूपमा जानकारी नभए पनि व्यवसायीबाट हामीले थाहा पाएका छौं,' उनले भने, 'सरकारले एकपक्षीय निर्णय नगरी विभिन्न पक्षसँग छलफल गरेर अगाडि बढनेछ ।' इजरायली पक्षलाई नेपालको कानुनी व्यवस्थाबारे राम्ररी जानकारी नहुँदा यस्तो समस्या आएको उनले बताए । 'यसबारे सरोकार राख्ने पक्षसँग छलफल गरिरहेका छौं,' दवाडीले थपे, 'त्यसबारे इजरायली दूतावाससँग छलफल गरिनेछ । दूतावासले भनेजस्तो भिसा पाउनु अघि नै अन्तिम स्वीकृति र स्टिकर टाँसेको भिसा दिन नसकिने उनले बताए । 'अन्तिम स्वीकृति भनेको भिसा पाएपछि आफ्नो देशका कामदार त्यो देश जानु उचित छ कि छैन भनेर दिइन्छ,' दवाडीले थपे, 'त्यसैले भिसाअघि अन्तिम स्वीकृति दिन सकिँदैन ।' विभागले छनोट सूची तयार गरी प्रमाणीकरण गरेर दूतावासलाई पढाउनु सबैभन्दा उत्तम विकल्प हुने उनको धारणा छ । श्रम ऐन मस्यौदा समितिका सदस्य तथा श्रमसम्बन्धी कानुनी सल्लाहकारका रूपमा काम गरिरहेका दुर्गादत्त पाण्डे अव्यवस्थित र अदक्ष कामदारको संख्या उच्च भएपछि इजरायलले बाध्य भएर यस्तो कदम चालेको बताउँछन् ।
'भाषा नजानेका, काम नजानेका तथा प्रशिक्षण नपाएका कामदारको संख्या इजरायलमा उच्च छ,' उनले भने, 'त्यसैले असक्षम कामदारको प्रवेशमा कडाइ गर्ने नीतिका कारण इजरायलले भिसाका लागि अन्तिम श्रम स्वीकृतिसहित स्टिकर लगाइएको पासपोर्ट मागेको हो ।' गत वर्षको जेठ महिनामा इजरायलले कामदारको प्रवेश अव्यवस्थित भएको भन्दै रोक लगाएको थियो । वैदेशिक रोजगारका लागि महिला माझ आकर्षक गन्तव्य बनेको इजरायल नेपाली कामदारका लागि तीन महिनाअघि मात्र खुला गरिएको थियो ।
दुई सरकारबीच नेपाली कूटनीतिक नियोग इजरायलमा राख्ने र संस्थागत रूपमा कामदार लैजाने सहमति भएपछि तीन महिनाअघि भिसा दिन थालिएको पाण्डेले बताए । 'खुला हुने बित्तिकै व्यक्तिगत सम्पर्कको आधारमा लैजान विभिन्न गुट सक्रिय भए,' उनले भने, 'त्यहाँ पुगेका महिलाले समस्यामा पर्दा जिम्बेवारी लिने कोही नभएपछि इजरायलले व्यक्तिगत सम्पर्कको आधारमा भिसा दिन छोडेको हो ।'
श्रम विभागले दूतावासलाई अन्तिम छनोट सूची पढाएर वा विभागको वेवसाइटमा नाम प्रकाशित गरिदिएर यो समस्याको समाधान गर्न सकिने उनले बताए । खुला भएपछि असोजमा २ सय ८१ र कात्तिकमा २ सय ३६ नेपाली इजरायल गएको विभागको तथ्यांकमा छ । मुख्य गरी नेपाली महिला घरेलु श्रमिकका रूपमा इजरायल काम गर्न जान्छन् ।
साभारः कान्तिपुर दैनिक
Tuesday, December 23, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment